उनीहरू मलाई लडेको हेर्न चाहन्छन्…

यहा कुनै मेरो व्यक्तिगत कथा, पीडा, गुनासो वा निजी जीवनसँग सम्बन्धित कुरा पाउनु हुनेछैन।

यो लेख पूर्ण रूपमा Entrepreneurship, आत्मनिर्माण, र घरबाट आफ्नै काम सिर्जना गर्ने यात्रासँग सम्बन्धित छ।

यो ती मानिसहरूका लागि हो जसले आफ्नो जीवनमा केही फरक गर्न चाहन्छन्।
ती मानिसहरूका लागि हो जसले भीडले हिँडेको बाटो छोडेर आफ्नै बाटो कोर्न चाहन्छन्।
र यो ती मानिसहरूका लागि पनि हो जसले केही सुरु गरिसकेका छन् तर बाटोमा आएका बाधा, आलोचना, असफलता र अनिश्चितताले कहिलेकाहीँ आफूलाई एक्लो महसुस गरिरहेका छन्।

किनकि जब तपाईं केही नयाँ गर्न खोज्नुहुन्छ, संसार तपाईंको लागि ताली बजाउन तयार हुँदैन।
धेरैजसोले तपाईंलाई रोक्न खोज्छन्।
धेरैजसोले तपाईंलाई हेरेर मुस्कुराउँछन्, तर त्यो मुस्कानमा विश्वासभन्दा बढी शंका लुकेको हुन्छ।
उनीहरू तपाईंलाई सफल भएको हेर्नुभन्दा लडेको हेर्न चाहन्छन्।

यही हो Entrepreneurship को कठोर यथार्थ।


यदि तपाईंले Entrepreneurship को यात्रा सुरु गर्ने सोच्नुभएको छ, वा सुरु गरिसक्नुभएको छ भने, त्यो साँच्चै सम्मानयोग्य कुरा हो।

किनकि कसैले बनाइदिएको संरचनाभित्र बसेर काम गर्नु र शून्यबाट आफ्नै संसार निर्माण गर्नु—यी दुई कुरा आकाश–जमिन जत्तिकै फरक छन्।

कसैले बनाइदिएको बाटोमा हिँड्नु सजिलो हुन सक्छ।
त्यहाँ नियमहरू तयार हुन्छन्।
दिशा तय भइसकेको हुन्छ।
जोखिम सीमित हुन्छ।
तपाईंले केवल पालना गर्नुपर्छ।

तर आफ्नै बाटो बनाउन?
त्यो सजिलो हुँदैन।

त्यहाँ तपाईंको विचार हुन्छ।
तपाईंको निर्णय हुन्छ।
तपाईंको लगानी हुन्छ।
तपाईंको समय हुन्छ।
तपाईंको संघर्ष हुन्छ।
तपाईंको अनुशासन हुन्छ।
तपाईंको त्याग हुन्छ।
र सबैभन्दा ठूलो कुरा—त्यहाँ तपाईं आफैँ हुनुहुन्छ।

Entrepreneurship भनेको बाहिर केही निर्माण गर्नु मात्र होइन,
भित्रको व्यक्तित्वलाई पनि पुनःनिर्माण गर्नु हो।


धेरैले Entrepreneurship लाई केवल व्यापार सुरु गर्नु, उत्पादन बनाउनु वा सेवा दिनु मात्र ठान्छन्।
तर Entrepreneurship त्योभन्दा धेरै ठूलो कुरा हो।

हामीले किताबहरूमा पढेका छौँ—
Entrepreneurship भनेको समस्या समाधान गर्नु, नयाँ अवसर सिर्जना गर्नु, समाजलाई सजिलो बनाउनु, मूल्य प्रदान गर्नु।

यी सबै सही हुन्।

तर प्रश्न यो छ—
यदि यति धेरै जानकारी उपलब्ध छ भने किन सबैजना Entrepreneur बन्न सक्दैनन्?

किन धेरैजसो मानिसहरू सुरक्षित जागिर रोज्छन्?
किन धेरैजसो मानिसहरू विदेश जाने बाटो रोज्छन्?
किन धेरैजसो सुरुमै यो खेलबाट बाहिरिन्छन्?

किनकि Entrepreneurship कागजमा पढेजस्तो सरल हुँदैन।

Entrepreneurship एउटा व्यवसायिक निर्णय मात्र होइन।
यो मानसिक युद्ध हो।
यो आत्मासँगको संवाद हो।
यो आफ्नो डर, कमजोरी, असुरक्षा र सीमाहरूसँग प्रत्यक्ष सामना गर्ने यात्रा हो।

यो केवल उत्पादन सिर्जना गर्ने खेल होइन।
यो आफ्नै कथा सिर्जना गर्ने खेल हो।


साँचो कुरा के हो भने—
Entrepreneurship को केवल एक भाग बाहिरी सिर्जनासँग सम्बन्धित हुन्छ।

बाँकी नौ भाग तपाईंको भित्री संसारसँग सम्बन्धित हुन्छ।

त्यहाँ अनिद्रा हुन्छ।
त्यहाँ असफलताको डर हुन्छ।
त्यहाँ आत्मसन्देह हुन्छ।
त्यहाँ निराशा हुन्छ।
त्यहाँ आर्थिक दबाब हुन्छ।
त्यहाँ धोका हुन्छ।
त्यहाँ विश्वासघात हुन्छ।
त्यहाँ सम्बन्धहरू टुट्ने पीडा हुन्छ।
त्यहाँ आफूलाई बारम्बार उठाउनुपर्ने बाध्यता हुन्छ।

र यी सबैको बीचमा पनि तपाईंले हाँस्न सिक्नुपर्छ।
हिँड्न सिक्नुपर्छ।
विश्वास गर्न सिक्नुपर्छ।

यही Entrepreneurship हो।


जब तपाईं यो यात्रामा प्रवेश गर्नुहुन्छ, सुरुमा एउटा कुरा स्पष्ट बुझ्नुपर्छ—

तपाईं केवल पैसा कमाउन आउनुभएको होइन।

यदि तपाईंको उद्देश्य केवल पैसा हो भने, यो यात्रा तपाईंका लागि अत्यन्त कठिन हुनेछ।
किनकि Entrepreneurship मा पैसा ढिलो आउन सक्छ।
धेरैपटक आउँदै नआएको जस्तो पनि लाग्न सक्छ।

तपाईं यहाँ केही निर्माण गर्न आउनुभएको हो।
तपाईं यहाँ समाजलाई केही दिन आउनुभएको हो।
तपाईं यहाँ आफ्नो दृष्टिलाई वास्तविकता बनाउन आउनुभएको हो।

पैसा त्यसको परिणाम हो, उद्देश्य होइन।


Entrepreneurship सधैँ एउटा प्रश्नसँग जोडिएको हुन्छ—

आराम रोज्ने कि कर्म रोज्ने?

आराम रोज्नु सजिलो छ।

साथीहरूसँग रमाइलो।
घुमफिर।
रिल्स हेर्दै समय बिताउनु।
टिभी हेर्नु।
नयाँ–नयाँ मनोरञ्जनमा हराउनु।
क्षणिक खुसीहरूमा रमाउनु।

यी सबै नराम्रा होइनन्।
जीवनमा रमाइलो आवश्यक छ।

तर उद्यमी बन्ने मानिसले एउटा कठिन निर्णय लिनुपर्छ—
सबैले रमाइरहेको बेला आफूले काम रोज्नु।

किनकि उसलाई थाहा हुन्छ—
आजको अनुशासनले भोलिको स्वतन्त्रता दिन्छ।

त्यसैले सबैजना Entrepreneur बन्न सक्दैनन्।


Entrepreneurship एउटा भावना हो।

जब तपाईं केही गर्न खोज्नुहुन्छ, संसारका धेरै आवाजहरू तपाईंको वरिपरि आउन थाल्छन्—

“यो काम चल्दैन।”
“यो हावा कुरा हो।”
“यसरी कसैले सफल भएको छैन।”
“यस्तो नगर, उस्तो गर।”
“तिमीले सक्दैनौ।”

यस्ता आवाजहरूको कमी हुँदैन।

मानिसहरूसँग अनगिन्ती तर्क हुन्छन्,
तर ती तर्कहरूको अधिकांश अनुभवबाट होइन, डरबाट जन्मिएका हुन्छन्।

साँचो कुरा के हो भने—
जबसम्म तपाईं आफैँले गरेर हेर्नुहुन्न, तबसम्म कसैलाई केही थाहा हुँदैन।


अनिद्रा Entrepreneurship को स्थायी साथी हो।

कहिलेकाहीँ नयाँ विचारहरूले निद्रा हराउँछ।
कहिलेकाहीँ असफल हुने डरले।

कहिले भविष्यको चिन्ताले।
कहिले बैंक खाताको अवस्थाले।
कहिले “यदि यो असफल भयो भने?” भन्ने प्रश्नले।

तर Entrepreneurship यही हो।


Entrepreneurship भनेको असफल हुने सम्भावना थाहा हुँदाहुँदै पनि अगाडि बढ्नु हो।

सुरुमै जित सुनिश्चित हुँदैन।
बरु सुरुमै हार सुनिश्चितजस्तै हुन्छ।

तर हाम्रो समाजले हारलाई गलत रूपमा बुझ्छ।

“म कहिल्यै हार्दिनँ।”
“हार्नु मेरो रगतमा छैन।”

यी संवादहरू चलचित्रमा सुहाउँछन्।
स्टेजमा भाषण गर्दा राम्रो सुनिन्छ।

तर वास्तविक Entrepreneurship मा?
त्यहाँ हार स्विकार्नुपर्छ।

हारलाई अपमान होइन, शिक्षा मान्नुपर्छ।
हारलाई अन्त्य होइन, दिशा सुधार्ने संकेत मान्नुपर्छ।

जसले हार स्विकार्न सिक्यो, उसैले जित्न सिक्छ।


मलाई लाग्छ, उद्यमीहरू राम्रो हृदय भएका मानिसहरू हुन्छन्।

उनीहरू बाहिरबाट साहसी देखिन्छन्,
तर भित्र कतिपय घाउ बोकेर हिँडिरहेका हुन्छन्।

उनीहरू हाँसिरहेका हुन्छन्,
तर धेरै रातहरू चुपचाप संघर्ष गरिरहेका हुन्छन्।

यो यात्रामा सबैभन्दा पहिले टुट्ने कुरा प्रायः सम्बन्धहरू हुन्छन्।

साथीहरू टाढिँदै जान्छन्।
प्रेम सम्बन्ध कमजोर हुन थाल्छ।
परिवारले पनि कहिलेकाहीँ नबुझ्न सक्छ।

र एउटा तितो सत्य—

तपाईं सफल होऊन् भन्ने चाहने मानिसहरू औँलामा गन्न सकिने हुन्छन्।
बाँकी धेरैजसो तपाईंको यात्रा छिट्टै सकियोस् भन्ने मौन अपेक्षामा हुन्छन्।

किन?

किनकि तपाईं फरक बाटोमा हिँडिरहनुभएको हुन्छ।
तपाईंको सोच उनीहरूको सहज सोचसँग मेल खाँदैन।

उनीहरूलाई डर हुन्छ—
यदि तपाईं असाधारण बन्नुभयो भने, उनीहरू साधारण देखिनेछन्।

त्यसैले कतिपयले तपाईंलाई आफ्नो स्तरमा तान्न खोज्छन्।

तर यसमा रिसाउनु हुँदैन।

किनकि तपाईंको ऊर्जा प्रमाणित गर्नमा होइन, निर्माण गर्नमा खर्चिनुपर्छ।


बरु ती थोरै मानिसहरूलाई सम्झनुहोस्
जो तपाईंमाथि विश्वास गर्छन्।

जो बारम्बार सोध्छन्—
“केही चाहियो भने भन है।”

जो तपाईंलाई माथि उठेको देख्न चाहन्छन्।

त्यस्ता मानिसहरू दुर्लभ हुन्छन्।
उनीहरूलाई कदर गर्नुहोस्।


अन्ततः Entrepreneurship भनेको सकारात्मक रहनु हो।
साधारण भएर पनि असाधारण काम गर्नु हो।
रिसलाई नियन्त्रण गरेर अगाडि बढ्नु हो।
मुस्कानसहित कठिनाइहरू पार गर्नु हो।

यो केवल बाहिर उत्पादन बनाउने यात्रा होइन।
यो भित्रको मन, मस्तिष्क र आत्मालाई बलियो बनाउने यात्रा हो।


Entrepreneurship केवल समस्या समाधान गर्ने प्रक्रिया होइन।

यो आफ्नो वास्तविक मूल्य चिन्ने यात्रा हो।
आफू वास्तवमा को हो भन्ने थाहा पाउने यात्रा हो।
जीवनको असली स्वाद बुझ्ने यात्रा हो।

यसले सिकाउँछ—
आरामभन्दा अर्थ ठूलो हुन्छ।
डरभन्दा दृष्टि ठूलो हुन्छ।
र असफलताभन्दा निरन्तरता ठूलो हुन्छ।


त्यसैले यदि तपाईं अहिले संघर्ष गर्दै हुनुहुन्छ,
यदि तपाईंलाई लागिरहेको छ कि संसार तपाईंको विरुद्ध छ,
यदि तपाईंलाई लागिरहेको छ कि धेरैले तपाईंलाई लडेको हेर्न चाहन्छन्—

त्यसो होस्।

उनीहरू हेर्दै गरून्।

किनकि Entrepreneur लड्नका लागि होइन,
लडेर उठ्नका लागि जन्मिएका हुन्छन्।

र जब तपाईं उठ्नुहुन्छ,
त्यो केवल तपाईंको सफलता हुँदैन—

त्यो तपाईंले आफैँलाई दिएको प्रमाण हुन्छ
कि तपाईंले हार मान्नुभएन।

त्यही हो Entrepreneurship को वास्तविक अर्थ।

Buy Nischal A Coffee
✍️
Nischal

Enjoyed the article? Buy Nischal a Coffee

Writer, Creator & Entrepreneur

🔥 Thanks for reading!

If this article helped you, learned something new, or simply enjoyed the read — consider buying me a coffee. It keeps me fueled to write more!

Every sip counts! ☕

Buy Me A Coffee
Scan to Pay via eSewa
📱 Buy Single Shot
via eSewa

Related articles

How to Stay Focused All The Times (फोकस बढाउने सरल उपायहरू)

यो पोस्ट काम गर्दा आफू कसरी फोकस रहिरहने भन्ने...

Private Label in Nepal – A New Era for Nepali E-commerce

Ecommerce in Nepal is growing fast. But within this...

How to Create a Brand in Nepal: Real Basics for Beginners

ब्रान्ड बनाउनु कुनै ठूलो कुरा होइन: नेपालमै सम्भव छ हामी...

How Fulfilled by Daraz (FBD) Works in Nepal – Simple Explanation

If you've been thinking about selling products online in...

Coming Back to Nepal? Build a Home-Based Business by Selling on Daraz

यो लेख पढ्दै गर्दा तपाईंहरूमध्ये धेरै जना सधैँका लागि...

Case Studies

Content & copywriting

iMangoss

Nischal’s journey began in 2015 with his first website, iMangoss.net, where he turned his deep interest in technology into a creative outlet. What started...
Trading

DAY TRADING

Nischal has also put his hands into day trading, expanding his curiosity and discipline into the world of financial markets. What started as a...
E-commerce

iAN

Nischal’s journey into the digital world began in 2015 with the launch of his first website, iMangoss.net. What started as a small idea soon...
यहा कुनै मेरो व्यक्तिगत कथा, पीडा, गुनासो वा निजी जीवनसँग सम्बन्धित कुरा पाउनु हुनेछैन। यो लेख पूर्ण रूपमा Entrepreneurship, आत्मनिर्माण, र घरबाट आफ्नै काम सिर्जना गर्ने यात्रासँग सम्बन्धित छ। यो ती मानिसहरूका लागि हो जसले आफ्नो जीवनमा केही फरक गर्न चाहन्छन्।ती मानिसहरूका लागि हो जसले भीडले...उनीहरू मलाई लडेको हेर्न चाहन्छन्…